काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकखण्डमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ। चन्द्रागिरि नगरपालिका र नेपाल प्रहरीबीच यस सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बिहीबार भएको उक्त समझदारीअनुसार काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य नाका रहेको क्षेत्र तथा वडा कार्यालय जाने सडकहरूमा समेत निगरानीका लागि क्यामेरा जडान गरिनेछ। सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री, प्रभावकारी र सुदृढ बनाउन यो योजना अघि सारिएको हो।
समझदारीपत्रमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्।
नगर प्रमुख गिरीले नागढुङ्गा उपत्यकाको सबैभन्दा ठूलो प्रवेशद्वार भएकाले यस क्षेत्रमा सुरक्षा व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण गर्न र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सहयोग पुग्नेछ।
त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थामा स्थानीय सरकार र नागरिकको सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै नगरपालिकाको पहलको प्रशंसा गरे। उनले प्रहरीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाए।