बन्द हेटौँडा कपडा उद्योग पुनर्जीवनतर्फ, मन्त्री यादवद्वारा अनुगमन
1.9k
Shares
हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले उद्योग परिसरमा पुगेर स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री यादवले उद्योगको भौतिक संरचना, मेसिनरी अवस्था, उत्पादन क्षमता तथा पूर्वाधारको विस्तृत अवस्थाबारे जानकारी लिएका थिए । उनले उद्योग पुनः सञ्चालनलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक अध्ययन र तयारीपछि छिटो सञ्चालनमा ल्याइने बताए ।
उनका अनुसार उद्योग सञ्चालनका लागि प्राविधिक मूल्याङ्कन, लगानी संरचना र व्यवस्थापन मोडालिटीबारे अध्ययन भइरहेको छ । उद्योगलाई सरकारी व्यवस्थापन वा सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत सञ्चालन गर्ने विकल्पबारे पनि छलफल भइरहेको जनाइएको छ ।
सरकारी स्वामित्वको यो कपडा उद्योग विगत केही वर्षदेखि निरन्तर बन्द रहँदै आएको छ । उत्पादन बन्द भएपछि सयौँ श्रमिक प्रभावित भएका थिए भने उद्योगको भौतिक संरचना पनि क्रमशः जीर्ण बन्दै गएको छ ।
उद्योग पुनः सञ्चालन भएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, स्वदेशी उत्पादन वृद्धि हुने र आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासी तथा सरोकारवालाहरूले उद्योग पुनर्जीवनलाई सकारात्मक कदम भन्दै छिटो कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।