काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ भने तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै रहने चेतावनी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। मधेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका साथै बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा भने कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।