जुरा र हुम्लाको सीमा क्षेत्रमा उत्पन्न विवादका कारण कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरिएको छ। बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच विवाद चर्किएपछि सडक अवरुद्ध भएको हो।
स्थानीयको विरोध र झडपपछि केही व्यक्तिहरू घाइते भएको घटनालाई लिएर आक्रोश बढ्दै गएपछि हिमाली गाउँपालिकाका बासिन्दाले धुलाचौर क्षेत्रमा कोरिडोर पूर्ण रूपमा बन्द गरेका थिए। यसका कारण हुम्ला आवतजावत गर्ने सवारीसाधन, यात्रु र मालवाहक गाडीहरू बाटोमै रोकिएका छन्।
पछि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा स्थानीय तह, राजनीतिक दल, प्रहरी प्रशासन र सरोकारवालाबीच छलफल भए पनि दीर्घकालीन समाधान ननिक्लिएपछि सडकलाई अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ।
विवाद मुख्य रूपमा सीमा क्षेत्रको स्वामित्व र अस्थायी प्रहरी चौकी निर्माणको विषयमा केन्द्रित छ। दुवै पक्षबीच सहमति भए मात्र कोरिडोर पुनः सञ्चालनमा आउने जनाइएको छ।
सडक बन्द हुँदा कर्णाली क्षेत्रको यातायात, आपूर्ति व्यवस्था र दैनिक जनजीवन प्रभावित भएको छ। स्थानीय प्रशासनले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास जारी राखेको छ।