हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा
981
Shares
काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लागेको छ । मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराईका भू–भागमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा वर्षा र हिमपात जारी रहने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।