काठमाडौं। मालपोत कार्यालयहरूमार्फत उठाउनुपर्ने आयकर प्रभावकारी रूपमा संकलन हुन नसक्दा सरकारी बेरुजु रकम निरन्तर बढ्दै गएको छ। अर्थ मन्त्रालयका सचिव भुजेल ले कर प्रशासन र मालपोतबीच समन्वय अभाव हुँदा राज्यको राजस्व असुलीमा गम्भीर असर परेको बताएका छन्।
सचिव भुजेलका अनुसार जग्गा–जमिन कारोबारको वास्तविक मूल्यांकन नहुनु, कारोबार विवरण समयमै कर प्रशासनसम्म नपुग्नु तथा अनुगमन कमजोर हुँदा आयकर संकलन लक्ष्य हासिल हुन सकेको छैन। यसले वार्षिक बेरुजु प्रतिवेदनमा समेत प्रत्यक्ष प्रभाव पार्दै आएको उनले स्पष्ट पारे।
उनले कर प्रणालीलाई प्रविधिमैत्री बनाउँदै कर प्रशासन र मालपोत कार्यालयबीच सूचना आदान–प्रदानलाई अनिवार्य र एकीकृत गर्ने तयारी भइरहेको जानकारी दिए। साथै, कर छल्ने प्रवृत्तिमा संलग्नलाई कडाइका साथ कारबाही गर्ने र कानुनी सुधारमार्फत आयकर असुलीलाई प्रभावकारी बनाइने सचिव भुजेलले बताए।
अर्थ मन्त्रालयका अनुसार मालपोत प्रणाली सुधार र समन्वय सुदृढ गर्न सकेमा आयकर संकलन बढ्नुका साथै बढ्दो बेरुजु नियन्त्रणमा आउन सक्ने अपेक्षा गरिएको छ।