काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज वर्षा र हावाहुरीको सम्भावना रहेको छ भने तराईका केही भू–भागमा अत्यधिक गर्मी हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय प्रणालीको प्रभाव कायम छ। यसकै प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेश प्रदेशसहित तराईका केही क्षेत्रमा पनि वर्षा र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको बताइएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने अनुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।