काठमाडौँ । रामचन्द्र पौडेल ले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण र हिमाली वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आयोजित ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार यस सम्पदाको संरक्षण, प्रवर्द्धन र दिगो उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगेको छ। उहाँले विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा देखिएको फोहर व्यवस्थापनजस्ता समस्या गम्भीर चुनौती बनेको बताउनुभयो ।
यी समस्याको समाधान गर्दै सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। राष्ट्रपति पौडेलका अनुसार पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन अन्तर्राष्ट्रिय सहकार्य, संवाद र सचेतना अभिवृद्धि आवश्यक छ।
विभिन्न देशका आरोहीलाई एकै ठाउँमा भेला गराएर अनुभव आदानप्रदान गर्ने यस्ता सम्मेलनले हिमाली क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
उहाँले सगरमाथालाई यसको प्राकृतिक स्वरूपमै जोगाउन विश्वव्यापी प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सकारात्मक योगदान दिने अपेक्षा गर्नुभयो।