काठमाडौं । नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले महासंघको नयाँ कार्यसमिति चयन गर्दै दिपेन राईलाई अध्यक्ष र धनबहादुर बोगटीलाई महासचिवमा चयन गरेको छ ।
महासंघका अनुसार विशेष साधारणसभामा देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विधानअनुसार आवश्यक गणपूरक संख्या पुगेपछि सभा औपचारिक रूपमा सञ्चालन गरिएको हो। सभाले प्रतिवेदन पारित गर्दै संस्थाको आगामी कार्यदिशा र संरचना पुनर्गठन गर्ने निर्णय गरेको जनाएको छ ।
सभाबाट केही पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय पनि गरिएको छ। त्यसअनुसार निवर्तमान अध्यक्ष हेराकाजी महर्जन र निवर्तमान महासचिव धरमबहादुर लामाको कार्यसम्पादन अब संस्थागत रूपमा मान्य नहुने स्पष्ट गरिएको छ ।
नवगठित कार्यसमितिले अब देशभरका स्थानीय तह, जिल्ला तथा प्रदेश बुद्धिचाल संगठनलाई पुनः सक्रिय बनाउने जनाएको छ । साथै आगामी निर्वाचन प्रक्रिया, प्रतियोगिता सञ्चालन र खेलाडी विकास कार्यक्रमलाई प्राथमिकतामा राखिने बताइएको छ ।
महासंघले आगामी दिनमा पालिका, जिल्ला र प्रदेश अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्दै साधारणसभा तथा चुनावी अधिवेशन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
सभापछि नवनिर्वाचित अध्यक्ष दिपेन राईले बुद्धिचाल खेलको विकास, पारदर्शी व्यवस्थापन र खेलाडीको हितलाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघले अब खेलाडी, प्रशिक्षक, जिल्ला तथा पालिका समितिहरूलाई तदर्थ समितिमार्फत समन्वय र सहकार्य गर्न अपिल गरेको छ।
विज्ञप्तिअनुसार आगामी कार्यक्रम तालिका यस प्रकार रहेको छः
– २०८३ असार मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने
– २०८३ साउन १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने
– २०८३ साउन २० गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने
– २०८३ असार २९ र ३० गते काठमाडौंमा निर्वाचन साधारणसभा आयोजना गर्ने
त्यसैगरी, नेशनल ए राष्ट्रिय प्रतियोगिताको दशौं संस्करण अन्तर्गत पुरुष/महिला बुद्धिचाल प्रतियोगिता २०८३ असार ५ देखि ११ गतेसम्म काठमाडौंमा सञ्चालन गरिने महासंघले जनाएको छ । प्रेस विज्ञप्तिमा महासचिव घनबहादुर बोगटी र अध्यक्ष दिपेन राईको हस्ताक्षर रहेको छ।
