काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफू २०८२ भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनमा सहभागी नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा फैलिएका विभिन्न टिप्पणी र भ्रम चिर्नका लागि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
प्रसाईंका अनुसार आन्दोलनमा सहभागी हुन खोज्दा ‘जेन–जी’ समूहका केही व्यक्तिले आफूलाई कालो झण्डा देखाउने चेतावनीसहित फोन गरेका थिए । त्यसपछि आफू उक्त आन्दोलनमा सहभागी नभएको उनको दाबी छ ।
उनले तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गर्दै ‘बौलाहा अभियन्ता नआउनु’ भनेपछि पनि आन्दोलनमा जानबाट पछि हटेको बताएका छन् ।
प्रसाईंले आन्दोलन सकिएपछि मात्रै देशको सुरक्षा संवेदनशीलता बुझ्दै सेना प्रमुखको आग्रहमा वार्ताका लागि गएको उल्लेख गरेका छन् ।
आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र अन्य आपराधिक गतिविधिमा आफ्नो नाम जोड्नु नियोजित षड्यन्त्र भएको उनको दाबी छ । उनले घटनामा ज्यान गुमाएका ४२ नागरिक र ३ सुरक्षाकर्मीप्रति न्याय हुनुपर्ने भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
त्यस्तै, टीओबी समूहलगायत दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्नुपर्ने र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।