बकर ईदले राष्ट्रिय एकता बलियो बनाउँछ : उपराष्ट्रपति यादव

1.7k Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव ले ईद–उल–अज्हा (बकर ईद) पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापको भावना अझ बलियो बनाउने बताएका छन्।

बकर ईदका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले सबैलाई एकआपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै विपन्न तथा सहयोग आवश्यक परेकालाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावना सुदृढ बनाउन पर्वले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

“धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्दछ,” शुभकामना सन्देशमा भनिएको छ। पर्वले सुख–दुःख साटासाट गर्न, अभावमा रहेकाहरूसँग हातेमालो गर्न तथा समाजमा सहिष्णुता र सद्भाव बढाउन प्रेरित गर्ने उनको भनाइ छ।

उपराष्ट्रपति यादवले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले यहाँका पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्व र एकताको संस्कार बलियो बनाउँदै राष्ट्रिय अखण्डता र सांस्कृतिक ऐक्यबद्धता जोगाउन मद्दत पुग्ने बताएका छन्।

उनले ईद–उल–अज्हा पर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप मजबुत बनाउँदै शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।

 
 
सम्बन्धित समाचार