इरान–अमेरिका तनाव उचाइमा: जहाज रोकथामदेखि सैन्य जवाफी हमला

3.4k Shares

तेहरान । इरान र संयुक्त राज्य अमेरिकाबीच फेरि तनाव बढेको छ। यद्यपि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा युद्धविराम समाप्त भएको घोषणा गरेका छैनन् ।

इरानी सञ्चारमाध्यमका अनुसार हर्मुज स्ट्रेट हुँदै गइरहेका चारवटा जहाजमाथि गोली प्रहार गरिएको छ। तीमध्ये एक अमेरिकी तेल ट्यांकर पनि रहेको बताइएको छ । रिपोर्ट अनुसार ती जहाजहरूले आफ्नो ट्र्याकिङ सिस्टम बन्द गरेर यात्रा गरिरहेका थिए ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जहाजहरूलाई पहिचान दिन आग्रह गरेको तर कुनै प्रतिक्रिया नआएपछि चेतावनीस्वरूप गोली चलाइएको दाबी गरिएको छ ।

अमेरिकी जवाफी आक्रमण र इरानको प्रतिक्रिया

यस घटनापछि अमेरिकी सेनाले बन्दर अब्बास एयरपोर्ट नजिकका तीन स्थानमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसको जवाफमा इरानको आईआरजीसीले अमेरिकी एयरबेसमा हमला गरेको जनाएको छ ।

आईआरजीसीका अनुसार बन्दर अब्बास क्षेत्रमा भएको अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप कुवेतमा रहेको अमेरिकी सैन्य बेसलाई लक्षित गरिएको दाबी गरिएको छ ।

तर कुन आधारमा आक्रमण गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तस्नीम समाचार एजेन्सीका अनुसार, उक्त सैन्य कारबाही स्थानीय समयअनुसार बिहान ४:५० बजे गरिएको हो ।

बन्दर अब्बासमा विस्फोट

इरानी सरकारी मिडियाले हर्मुज स्ट्रेट नजिकको बन्दर अब्बास शहरको पूर्वी भागमा मंगलबार बिहान तीन वटा ठूला विस्फोटको आवाज सुनिएको जनाएको छ ।

विस्फोटपछि इरानले केही समयका लागि आफ्नो एयर डिफेन्स प्रणाली सक्रिय पारेको थियो । तर विस्फोटको कारणबारे आधिकारिक पुष्टि भएको छैन ।

हर्मुज स्ट्रेटबारे अन्तर्राष्ट्रिय बहस

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट अन्तर्राष्ट्रिय समुद्री मार्ग भएको र कुनै एक देशको नियन्त्रणमा हुन नहुने बताएका छन् ।

उनले भने, “विश्वका सबै जहाजलाई यहाँबाट स्वतन्त्र रूपमा आवतजावत गर्ने अधिकार हुनुपर्छ। इरानले नियन्त्रण गर्न खोजे पनि त्यो स्वीकार्य हुँदैन ।”

ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर पनि कडा टिप्पणी गर्दै इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने स्पष्ट पारे ।

अमेरिका–इरान वार्ता र कूटनीतिक स्थिति

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले समस्या समाधानका लागि अमेरिका वार्ताबाट अघि बढ्न चाहेको बताए पनि इरानले कहिल्यै परमाणु हतियार प्राप्त गर्न नहुने धारणा दोहोर्याएका छन् ।

राष्ट्रपति ट्रम्पले भने अहिलेको तनावपछि पनि इरानसँग सम्झौताका लागि तयार रहेको तर त्यो पूर्ण रूपमा अमेरिकी सर्तअनुसार मात्र हुने बताएका छन् ।

ट्रम्पका अनुसार हालको परिस्थितिपछि इरान आर्थिक र सैन्य रूपमा कमजोर भएको छ। उनले इरानको नौसेना र वायुसेनामा क्षति पुगेको, अर्थतन्त्र कमजोर भएको तथा मुद्रास्फीति र मूल्यवृद्धि उच्च भएको दाबी गरेका छन् ।

हर्मुज स्ट्रेट क्षेत्रमा देखिएको पछिल्लो घटनाक्रमले अमेरिका–इरान सम्बन्ध फेरि गम्भीर तनावतर्फ गएको संकेत गरेको छ। स्थिति अझै अस्थिर रहेकाले अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निगरानी गरिरहेको छ ।

सम्बन्धित समाचार