काठमाडौंमा वर्षासँगै मौसम शीतल, तराईको गर्मी पनि घट्दै

1.6k Shares

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा वर्षा भएपछि मौसम केही शीतल बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली र वर्षाका कारण तराई क्षेत्रमा समेत अत्यधिक गर्मी घट्दै गएको छ।

दुई दिनअघि ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको तराईको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल झरेको विभागले जनाएको छ। आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ भने नेपालगञ्जमा ३८ दशमलव २ डिग्री पुगेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा भइरहेको छ। वर्षाका कारण देशभर केही राहत महसुस भएको उहाँले बताउनुभयो।

आज सबैभन्दा बढी वर्षा धनकुटामा ८७ मिलिमिटर मापन भएको छ भने काठमाडौंसहित अन्य जिल्लामा मध्यम वर्षा भएको विभागले जनाएको छ। भोलिदेखि वर्षा अझ बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ। यसकै असरले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईमा देखिएको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कम हुँदै जानेछ। आगामी तीनदेखि चार दिनसम्म देशका धेरै स्थानमा शीतल मौसम रहने सम्भावना रहेको उहाँले बताउनुभयो।

विभागले शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको जनाएको छ।

सम्बन्धित समाचार