काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा र हुरीको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेशसहित केही तराई क्षेत्रमा पनि चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही तराई तथा पहाडी क्षेत्रमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।