काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई सहुलियत दरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ ।
बिजुलीको खपत बढाउँदै विद्युतीय उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो नीति ल्याएको जनाएको छ । विशेषगरी खाना पकाउने, सवारीसाधन चार्ज गर्ने तथा घरायसी विद्युतीय उपकरणको प्रयोग बढाउन करमा सहुलियत दिने नीति अघि सारिएको हो ।
सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर आन्तरिक विद्युत् खपत बढाउने लक्ष्य राख्दै आएको छ । पछिल्ला वर्षहरूमा विद्युत् खपत बढाउन महसुल तथा कर संरचनामा विभिन्न सुधार गर्दै आएको सरकार अब भ्याट दरमा समेत सहुलियत दिने तयारीमा पुगेको हो ।