पश्चिमी वायुको प्रभाव : देशभर बदली, वर्षा र हावाहुरीको सम्भावना

1.1k Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालनजिक फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

यसका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ। अन्य तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी, बागमती र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्नेछ। तराई तथा पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति सुदूरपश्चिमसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनीका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार