काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक, समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको व्यवस्था गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा र लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताएका छन्। महिला अधिकारको संरक्षण र प्रवर्द्धनमा राज्य, समुदाय र सरोकारवालाबीच सक्रिय सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
उनले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र विभेद अन्त्य गर्न सरकार दृढ रहेको बताएका छन्।
यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि महिला अधिकारको संरक्षण, लैङ्गिक समानता र सामाजिक रूपान्तरणका लागि राज्य, समुदाय तथा नागरिक समाजबीच बलियो सहकार्य आवश्यक रहेको बताएकी छन्।
उनले संविधानले सुनिश्चित गरेका महिला अधिकारलाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्न सबै पक्षको प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै महिला अधिकार केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा सीमित विषय नभई समान अवसर, सम्मानजनक सहभागिता र सामाजिक व्यवहारसँग जोडिएको विषय भएको बताएकी छन्।
यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित मनाइँदैछ।