दिगो हिमाली विकासका लागि विश्वव्यापी सहकार्य आवश्यक : प्रथम राष्ट्रपति यादव
1.1k
Shares
काठमाडौँ, जेठ १६ गते। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपाल मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ।
‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी तथा पारिस्थितिकीय प्रणालीमा गम्भीर असर परिरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
उहाँले नेपालको भौगोलिक विविधता र सामाजिक एकतालाई राष्ट्रिय शक्तिको रूपमा व्याख्या गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै नेपालको पहिचान मजबुत बनेको धारणा राख्नुभयो। तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई संस्कृति र दृढताको प्रतीक तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै उहाँले विविधता नै राष्ट्रको शक्ति भएको उल्लेख गर्नुभयो।
सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीकका रूपमा वर्णन गर्दै उहाँले पर्यटन क्षेत्रले विभिन्न राष्ट्र र संस्कृतिबीच आपसी समझदारी बढाउने माध्यम बनेको बताउनुभयो। पर्यटन नेपालको समृद्धिको महत्वपूर्ण आधार भएको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “नेपालका हिमाल विश्वकै पहिचान हुन्। यसको संरक्षण र सम्वर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता अपरिहार्य छ। पर्यटनले सीमापारका मानिसलाई जोड्छ र अवसर सिर्जना गर्छ। तर हामीले हाम्रो संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई बिर्सनु हुँदैन।”
उक्त अवसरमा उहाँले पर्वतारोही, पथप्रदर्शक, उद्धारकर्मी, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीको योगदानको प्रशंसा गर्दै सम्मान व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो। डा. यादवले विदेशी पाहुनालाई बुद्ध र सगरमाथाको देशमा स्वागत गर्दै नेपाललाई विश्वव्यापी संवाद र दिगो हिमाली विकासको केन्द्रका रूपमा स्थापित गर्न यस्ता मञ्चहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
यस वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पर्वतारोही पेर्टेम्बा शेर्पालाई प्रदान गरिएको छ। उहाँले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको सफल आरोहण गर्ने ऐतिहासिक टोलीसँगै पुगेर योगदान दिनुभएको थियो।
पूर्वराष्ट्रपति यादवले उहाँलाई दोसल्ला ओढाएर, प्रमाणपत्र तथा ५१ हजार एक सय ५१ रुपैयाँ नगदसहित सम्मानित गर्नुभएको हो।