काठमाडौँ । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएको छ। मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएको हो। यस हारसँगै नेपालले आजै एसियन गेम्समा सीधै छनोट हुने अवसर गुमाएको छ।
अब नेपालले छनोट चरण पार गर्न तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्यान्ड भने एसियन गेम्सका लागि छनोट भइसकेका छन्। जितका लागि १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक ४८ रन बनाइन्।
त्यस्तै धनुश्री मुहुननले २१, आइना हमिजाले १८ र माहिरा इजातीले १४ रनको योगदान दिए। नेपालका लागि बलिङतर्फ रिया शर्माले ३ विकेट लिइन्। मनिषा उपाध्याय र रुबिना क्षेत्रीले २–२ विकेट तथा सीता रानामगरले १ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४६ रन बनाइन्। कविता कुँवरले ३३, रुबी पोदारले १७ र पूजा महतोले १५ रनको योगदान दिए।
मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्गामले २ विकेट तथा आइसा एलिसा र माहिरा इजातीले १–१ विकेट लिएका थिए।