बुटवल । भारत उत्तर प्रदेशको कुशीनगर क्षेत्रमा नेटवर्किङ व्यवसायको नाममा बन्धकजस्तै बनाएर राखिएका ४५३ नेपालीलाई उद्धार गरी रुपन्देही ल्याइएको छ। अहिले उनीहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगरस्थित नेटवर्किङ व्यवसायको कार्यालयबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकाहरूलाई शनिबार बेलहिया नाका हुँदै रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
रुपन्देही प्रहरीका अनुसार उद्धार गरिएकामध्ये करिब १०० जना महिला रहेका छन्। सबैलाई हाल पीडित र सम्भावित संलग्नताको आधारमा छुट्याउने काम भइरहेको छ। घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार ती व्यक्तिहरूलाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालका विभिन्न जिल्लाबाट भारतको कुशीनगर लगिएको पाइएको छ। त्यहाँ पुगेर उनीहरूलाई न्यून तलबमा काम गराउने, तालिमको नाममा रकम असुल्ने तथा थप सदस्य ल्याउन दबाब दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूलाई एउटै कोठामा १५–१६ जनासम्म राख्ने गरिएको र अमानवीय अवस्थामा बस्न बाध्य बनाइएको समेत खुलेको छ। केही पीडितका आफन्तले फिरौतीसमेत माग गरिएको भन्दै उजुरी दिएपछि ६ महिनासम्म अनुसन्धान गरेर उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार कार्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय प्रहरी तथा नेपाली दूतावासको सहयोगमा सम्पन्न भएको हो। दूतावासका मिनिस्टर कन्सुलर अम्बिका जोशीका अनुसार गुनासो र विस्तृत अध्ययनपछि उद्धार सम्भव भएको हो।
प्रहरीले उद्धार गरिएकाहरूको विस्तृत विवरण संकलन गरी पीडितलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ भने घटनामा संलग्नहरूमाथि थप कानुनी कारबाही अघि बढाइने जनाएको छ।