विद्युतीय सवारी कर आलोचनाबीच अर्थ विधेयक वेबसाइटबाट हटाइयो
1.8k
Shares
काठमाडौं । अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक २०८३ एकाएक हटाइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि सो विधेयक मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको थियो। तर शनिबार उक्त विधेयक अचानक वेबसाइटबाट हटाइएको पाइएको छ।
बजेटमार्फत ल्याइएका कर नीतिहरूलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना र बहस सुरु भइरहेका बेला विधेयक हटाइएको हो। विशेषगरी विद्युतीय सवारी साधनमा लगाइएको करको दरलाई लिएर चर्को आलोचना भएपछि मन्त्रालयले उक्त दस्तावेज हटाएको हुनसक्ने अनुमान गरिएको छ।
हालसम्म अर्थ मन्त्रालयले विधेयक वेबसाइटबाट हटाउनुको कारणबारे औपचारिक रूपमा कुनै स्पष्ट जानकारी दिएको छैन। तर यस घटनाले बजेट र कर नीतिबारे थप बहस चर्किने देखिएको छ।