देशका विभिन्न क्षेत्रमा वर्षा र हुरीको सम्भावना, सतर्क रहन आग्रह

1.6k Shares

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा नेपालनजिक सक्रिय न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली रहेको छ।

हाल लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको छ। मौसमविद्ले वर्षा, चट्याङ र हुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार