एसियाली खेलकुद छनोट : नेपालका पुरुष र महिला टोली आज चीनविरुद्ध मैदानमा

2k Shares

काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोटअन्तर्गत आइतबार नेपालका पुरुष र महिला टोलीले एकै समयमा चीनविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्।

पुरुष टोलीले सिंगापुरमा आफ्नो पहिलो खेल खेलिरहेको छ भने महिला टोलीले मलेसियामा तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गरिरहेको छ।

पुरुषतर्फ पनि चीनले टस जितेर फिल्डिङ रोजेको छ। त्यससँगै नेपाली टोलीले ब्याटिङबाट खेलको सुरुआत गरेको छ। पुरुष छनोट प्रतियोगितामा सहभागी टोलीहरू दुई समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहका शीर्ष दुई टोली एसियाली खेलकुदका लागि छनोट हुने व्यवस्था रहेको छ। नेपालको समूहमा चीन र मलेसिया रहेका छन्।

महिला टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ। सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएपछि नेपालले फाइनल पुग्दै एसियाली खेलकुदमा छनोट हुने अवसर गुमाएको थियो। अब एसियाली खेलकुदमा स्थान सुरक्षित गर्न नेपालले तेस्रो स्थानको खेलमा चीनलाई हराउनुपर्ने दबाब रहेको छ।

आजको खेलमा टस जितेर चिनियाँ महिला टोलीले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपालले प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ भने महिला टोलीले पनि एसियाली खेलकुदको आशा कायम राख्न चीनविरुद्ध जित निकाल्ने प्रयास गरिरहेको छ।

 
 
सम्बन्धित समाचार