साफ महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग निर्णायक खेलमा भिड्दै

1.8k Shares

काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल जवाहरलाल नेहरु स्टेडियममा पौने ५ बजे सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलंका भने भुटानसँग ४–० ले पराजित भएको थियो । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाल समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी पर्याप्त हुनेछ भने श्रीलंकालाई सेमिफाइनल पुग्न नेपालविरुद्ध फराकिलो जित आवश्यक छ ।

नेपालकी प्रमुख फरवार्ड तथा कप्तान सावित्रा भण्डारी (साम्बा) घुँडाको चोटका कारण टोलीमा छैनिन् । यस्तै सविता रानामगर पनि चोटका कारण बाहिर छिन् । यसैबीच कम्बोडियामा लिग खेलिरहेकी प्रीति राई ट्राभल समस्याका कारण पहिलो खेलमा उपलब्ध थिइनन् ।

मुख्य खेलाडीहरूको अनुपस्थितिमा पनि नेपालले पहिलो खेलमा भुटानविरुद्ध १–० को जित निकालेको थियो, जहाँ निर्णायक गोल डिफेन्डर गीता रानाले गरेकी थिइन् ।

आजको खेलमा रश्मि कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा र पूर्णिमा राईजस्ता युवा फरवार्डहरूले गोल गर्दै टोलीलाई सेमिफाइनल नजिक पुर्‍याउने अवसर पाउनेछन् ।

समूह ‘ए’ मा नेपाल र भुटानको समान ३–३ अंक छ भने गोलअन्तरका आधारमा भुटान शीर्ष स्थानमा छ। आजको नतिजाले समूह विजेता टुंगो लगाउनेछ ।

यसैबीच समूह ‘बी’ अन्तर्गत साविक विजेता बंगलादेश र घरेलु टोली भारतबीच पनि निर्णायक खेल हुनेछ । दुवै टोलीले माल्दिभ्सलाई हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

साफ महिला च्याम्पियनसिपको यो आठौं संस्करण हो । अहिलेसम्म भारतले सर्वाधिक ५ पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो दुई संस्करणको च्याम्पियन हो । नेपाल भने हालसम्म ६ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।

 
 
सम्बन्धित समाचार