संविधान संशोधनबारे नागरिकका ४४ हजारभन्दा बढी सुझाव प्राप्त

1.2k Shares

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको जनाएको छ।

कार्यदलको सचिवालयले जेठ ८ गते सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकसँग लिखित सुझाव माग गरेको थियो। सोही आह्वानअनुसार देश तथा विदेशबाट नेपाली नागरिकले आफ्ना धारणा र सुझाव पठाएका हुन्।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार १९ हजार २३९ सुझाव इमेलमार्फत प्राप्त भएका छन् भने २५ हजार ३७४ सुझाव ह्वाट्सएपमार्फत आएका छन्।

संविधान संशोधन प्रक्रियामा आम नेपालीको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गरिएको कार्यदलले जनाएको छ। प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषणको काम भइरहेको र त्यसका आधारमा बहसपत्र तयार गरिने सदस्य सचिव सुवेदीले जानकारी दिए।

सम्बन्धित समाचार