काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारका विषयमा छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ।
अमेरिकी उपविदेशमन्त्री रोजर्सले सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताएकी थिइन्।
भेटका क्रममा उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र आवश्यक सहजीकरणको अपेक्षा रहेको धारणा राखिन्। साथै इन्टरनेट स्वतन्त्रताको संरक्षण गर्दै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा बालमैत्री संवेदनशील सामग्री नियन्त्रणमा सहकार्य गर्न सकिने बताइन्।
सञ्चारमन्त्री तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई सरकारले स्वागत गर्ने बताए। उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु सरकारको प्राथमिकतामा रहेको भन्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि उपलब्ध नीतिगत तथा कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए।
मन्त्री तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय व्यवस्था गरिने बताए। भेटमा सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।