काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ। प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार गरिएको सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखसमेत परिवर्तन भएका छन्।
सरुवाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ। हाल काठमाडौंका प्रमुख रहेका रमेश थापालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।
त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा तुलबहादुर कार्कीलाई खटाइएको छ। ललितपुरका वर्तमान प्रमुख होबिन्द्र बोगटीलाई उपत्यका ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
प्रहरी संगठनभित्र गरिएको जिम्मेवारी हेरफेरअनुसार सुवासचन्द्र बोहरालाई लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुख बनाइएको छ। शान्तिराज कोइरालालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, नकुल पोखरेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो तथा नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न प्रदेश, तालिम केन्द्र, ब्यूरो तथा कार्यालयहरूमा कार्यरत एसएसपीहरूको जिम्मेवारीसमेत फेरबदल गरिएको छ।