रवि फर्किएलगत्तै भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

2.3k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने तयारीमा रहेका छन्। परराष्ट्रमन्त्री खनालको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा देखिएको पछिल्लो कूटनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ।

यसअघि परराष्ट्रमन्त्री खनालको भारत भ्रमणको कार्यक्रम तय भए पनि भारतीय पक्षले अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरेपछि भ्रमण रोकिएको थियो। उनी जुन १ मा भारत जाने तयारीमा थिए।

नेपाल–भारत सम्बन्ध पछिल्लो समय सीमा, कूटनीतिक भेटघाट र उच्चस्तरीय भ्रमणका विषयमा केही तनावपूर्ण बनेको पृष्ठभूमिमा खनालको सम्भावित भारत भ्रमणलाई महत्वपूर्ण मानिएको छ। यसअघि मौरिससमा भएको भेटमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच द्विपक्षीय सम्बन्ध तथा उच्चस्तरीय भ्रमणबारे छलफल भएको थियो।

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार, कनेक्टिभिटी, सीमा र क्षेत्रीय सहकार्यका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। यद्यपि भ्रमणको औपचारिक मिति र कार्यतालिका सार्वजनिक गरिएको छैन।

रवि लामिछानेको भारत भ्रमण र त्यसलगत्तै हुन लागेको परराष्ट्रमन्त्री खनालको भ्रमणलाई काठमाडौं–नयाँदिल्ली सम्बन्ध सुधारको कूटनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार