जातीय विभेद अन्त्यका लागि सबैलाई संवेदनशील बन्न राष्ट्रपतिको आह्वान

1.5k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई विभेदरहित, समावेशी र सभ्य समाज निर्माणका लागि थप प्रतिबद्ध हुन आह्वान गर्नुभएको छ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

उहाँले दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदरहित समाज निर्माणप्रति सबैलाई थप जिम्मेवार र प्रतिबद्ध बन्न प्रेरणा दिएको उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको दिनको स्मरण गर्दै संविधानले विविधताबीचको एकता, सामाजिक सद्भाव, सहिष्णुता र समावेशिताको आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको बताउनुभयो।

उहाँले जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाले मात्र सम्भव नहुने भन्दै समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता तथा पारस्परिक सम्मानको भावना विकास हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

दिवसले विविधताभित्रको एकतालाई अझ बलियो बनाउँदै समतामूलक, सभ्य र समावेशी समाज निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता पुनः स्मरण गराएको उहाँको भनाइ छ।

सन्देशमा राष्ट्रपति पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको उल्लेख गर्दै सबै जातजाति र समुदायबीच सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ।

उहाँले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिँदै समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा सञ्चारकर्मीलाई अझ बढी संवेदनशील र जिम्मेवार बन्न आह्वान गर्नुभएको छ।

सम्बन्धित समाचार