भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, उच्चस्तरीय भेटवार्तामा सीमा र द्विपक्षीय सहकार्यका एजेन्डा

1.8k Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमणबारे जानकारी दिएको हो।

यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण प्राविधिक कारणले केही दिन पछाडि सारिएको मन्त्रालयले जनाएको छ। संशोधित कार्यतालिकाअनुसार मन्त्री खनाल शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसहित त्यहाँका उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग, आपसी हितका विषय तथा क्षेत्रीय चासोका मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे पनि प्रारम्भिक संवाद हुने छ। त्यसका साथै नेपाल–भारत सीमा सम्बन्धी विषय, आर्थिक तथा कूटनीतिक सहकार्यका एजेन्डामाथि समेत छलफल हुन सक्ने बताइएको छ।

उक्त भेटवार्ता र छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका प्राथमिकता र एजेन्डा तय गर्ने प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।

यता, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोलीको भ्रमणले समेत कूटनीतिक वृत्तमा चर्चा पाएको बेला सरकारका तर्फबाट परराष्ट्रमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी विश्वास अभिवृद्धि गर्ने तथा द्विपक्षीय मुद्दाहरूलाई संवादमार्फत अघि बढाउने उद्देश्यसहित मन्त्री खनालको भ्रमण हुन लागेको बताइएको छ।

 
 
सम्बन्धित समाचार