लाभको पद’को अपेक्षासहित बालेनलाई सन्देश, सचिव पुष्करमाथि सोधपुछ
1.3k
Shares
काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री बालेन शाहलाई व्यक्तिगत लाभसँग सम्बन्धित सन्देश पठाएको आरोपपछि प्रहरी सोधपुछमा परेका छन्।
स्रोतका अनुसार अवकाश नजिकिएका सचिव पुष्करले प्रधानमन्त्री बालेनसँग राजनीतिक नियुक्ति वा लाभको पद पाउने अपेक्षासहित सिधै सम्पर्क गरेका थिए। उक्त सन्देशमा उनले संवैधानिक निकाय वा अन्य लाभदायक पदमा नियुक्तिको चाहना व्यक्त गरेको दाबी गरिएको छ।
घटनापछि बिहीबार अपराह्न उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले केही समय नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछपछि तत्काल मुद्दा चलाउन पर्याप्त आधार नदेखिएकाले सोही दिन उनलाई रिहा गरिएको बताइएको छ।
पुष्कर हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् र आगामी असार २४ गते अवकाशमा जाने तयारीमा रहेका छन्। अवकाश नजिकिँदै गर्दा राजनीतिक नियुक्ति खोज्ने क्रममा उनले प्रधानमन्त्रीसँग सम्पर्क गरेको स्रोतको भनाइ छ।
यसअघि पनि उनी मुख्यसचिव बन्ने दौडमा रहेका थिए। तर त्यसबेला सरकारको निर्णयअनुसार अर्को अधिकारीलाई मुख्यसचिव नियुक्त गरिएको थियो।
यस घटनाले अवकाश नजिकिएका उच्चपदस्थ कर्मचारीहरूले राजनीतिक नियुक्तिका लागि शक्तिकेन्द्रसँग सम्पर्क गर्ने प्रवृत्तिबारे पुनः बहस सुरु गरेको छ।