प्रकृतिमुखी जीवनशैली अपनाउन राष्ट्रपतिको आह्वान, हरित भविष्य निर्माणमा जोड

1.2k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्दै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबैलाई आह्वान गर्नुभएको छ।

विश्व वातावरण दिवस (जुन ५, २०२६) का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै दिगो विकासका लागि प्रकृतिसँग मेल खाने जीवनशैली आवश्यक रहेको बताउनुभएको हो।

उहाँले सन्देशमा स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन क्षमता विकास तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्वव्यापी रूपमा गम्भीर चुनौती सिर्जना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसको प्रभाव भविष्यमा मात्र नभई अहिले नै स्पष्ट रूपमा देखिन थालेको बताउनुभयो।

उहाँले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नागरिक, समुदाय तथा सरोकारवाला सबै निकायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।

सन्देशमा नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनजस्ता समस्या देखिँदै आएको उल्लेख गर्दै यी चुनौती सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको भनिएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। यस वर्ष ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नाराका साथ दिवस मनाइँदैछ।

सम्बन्धित समाचार