काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल मनसुन दक्षिण भारतको केरलासम्म पुगेको छ भने आगामी केही दिनमा बंगालको खाडी हुँदै विस्तार हुँदै नेपालतर्फ आउनेछ ।
“यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गर्न सकिँदैन। तर एक हप्ताजति आसपासमा नेपालमा मनसुन भित्रिने अनुमान छ,” मौसमविद् पौडेलले बताए । उनका अनुसार मनसुनको गति र सक्रियताअनुसार भित्रिने समय केही अघि–पछि हुन सक्छ ।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने औसत मिति भए पनि यस वर्ष भारतमै मनसुन ढिला सक्रिय भएकाले नेपालमा पनि ढिलाइ हुने अनुमान गरिएको छ ।
यस वर्ष मनसुनको अवधिमा औसतभन्दा कम वर्षा हुने र केही स्थानमा अतिवृष्टि तथा अनावृष्टिको जोखिम रहने आकलन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष करिब ५१ हजार परिवारका २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमानसहित प्रतिकार्य राष्ट्रिय योजना कार्यान्वयनमा ल्याइएको छ ।