काठमाडौं । मुलुकमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली हुनुका साथै वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
तराईका केही स्थानमा पनि वर्षाको प्रभाव देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थान तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यता, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। शनिबार राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मौसमविद्हरूले तातो लहरको प्रभावबाट जोगिन दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर जाँदा छाता वा टोपी प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन्।
तराई क्षेत्रमा तापक्रम अझ बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।