ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा, एसियन गेम्समा स्थान पक्का
2.5k
Shares
काठमाडौं – नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ७ चौका र एक छक्कासहित अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे भने कुशल भुर्तेलले २० रन जोडे। आशिफ शेख एक रनमै आउट भएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा ९४ रनमै समेटेको थियो। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे भने साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
ओमानका कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बालुशीले २२ र अब्दुल जलीलले १६ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगेको नेपालले यसअघि चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
सेमिफाइनलमा स्थान बनाएसँगै नेपालले एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब नेपालले सोमबार हुने फाइनलमा हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।