राष्ट्रिय चेसमा रुपेश र कृतिसराको अग्रता, उपाधि जोगाउने दौडमा रुपेश

2.1k Shares

दमक । २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन सम्पन्न पाँच चरणका खेलपछि एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५ अङ्कसहित आ–आफ्नो विधामा अग्रता कायम गरेका छन्।

४६औँ चेस ओलम्पियाड छनोटअन्तर्गत भइरहेको प्रतियोगितामा साविक च्याम्पियन रुपेश उपाधि रक्षा गर्ने लक्ष्यसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। चौथो चरणमा उनले कमल श्रेष्ठलाई पराजित गरे भने पाँचौँ चरणमा कडा प्रतिस्पर्धी रिसोन थापासँग बराबरी खेले।

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा सञ्चालित प्रतियोगितामा रुपेश अपराजित रहँदै एक अङ्कको स्पष्ट अग्रता बनाउन सफल भएका छन्। छैटौँ चरणमा उनले आशिष फुयालसँग कालो गोटीबाट प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ रिसोन थापा, सिएम सुश्रुत दाहाल र सिएम पुरुषोत्तम सिलवालले समान ३.५ अङ्क जोड्दै शीर्ष स्थानका लागि चुनौती प्रस्तुत गरेका छन्। पूर्व च्याम्पियन राजन सुवेदी र आशिष फुयालको समान तीन अङ्क रहेको छ।

महिलातर्फ निहाना श्रेष्ठ चार अङ्कसहित अपराजित रहँदा कृतिसरा अधिकारी शीर्ष स्थानमा छिन्। कृतिसरासँग पराजित प्रिया क्षेत्री ३.५ अङ्कमा सीमित भएकी छन् भने पूजा भण्डारीको पनि समान ३.५ अङ्क रहेको छ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश, विराटनगर तथा झापा जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा जारी छ दिने प्रतियोगिता ११ चरणसम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार