विदेशमा बसेर हाजिर नगर्ने दुई निजामती कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढ्यो

1.1k Shares

काठमाडौं ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई निजामती कर्मचारीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भइसकेपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हो।

सूचनाअनुसार मन्त्रालयअन्तर्गत कार्यरत ती दुई कम्प्युटर अपरेटरले स्वीकृत अध्ययन तथा असाधारण बिदा सकिएपछि समेत लामो समयसम्म कार्यालयमा हाजिर नभएको पाइएको छ। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी तथा स्थायी आवासीय अनुमति (पीआर) लिएको प्रमाण भेटिएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन नपाइने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने कानुनी प्रावधान हुँदाहुँदै पनि उनीहरू अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्यमा संलग्न भएको ठहर गरिएको मन्त्रालयले जनाएको छ। निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभएमा प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। साथै, कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन र खोजी कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

यसैबीच, प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप सुदृढ बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्। उनले मन्त्रालय निजामती सेवामा अनुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यालयमा अनुपस्थित कर्मचारीहरूको अवस्थाबारे विस्तृत अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन्।

सम्बन्धित समाचार