विश्वकपमा पोर्चुगललाई डीआर कङ्गोले रोक्यो

2.1k Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार पोर्चुगल लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) सँग १–१ गोलको बराबरीमा रोकिएको छ।

ह्युस्टनमा वर्षाबीच सम्पन्न खेलमा पोर्चुगलले छैटौँ मिनेटमै अग्रता लिएको थियो। पेड्रो नेटोको उत्कृष्ट क्रसमा जोआँ नेभेसले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

तर खेलमा क्रमशः लय समातेको डीआर कङ्गोले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो। कर्नरबाट आएको बलमा योआने विस्साले हेडमार्फत जाली चुमाउँदै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफमा डीआर कङ्गोले थप दबाब सिर्जना गरेको थियो। सेड्रिक बाकाम्बुको प्रहार पोस्टमा लागेर फर्किँदा अफ्रिकी टोली जितको निकै नजिक पुगेको थियो। अर्कोतर्फ, अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोले पाएका दुई स्पष्ट अवसर सदुपयोग गर्न नसक्दा पोर्चुगलले पूर्ण तीन अंक जोड्ने मौका गुमायो।

रोनाल्डोका लागि यो छैटौँ विश्वकप सहभागिता हो, जससँगै उनले अर्जेन्टिनाका लियोनल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक विश्वकप खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

यो नतिजासँगै समूह ‘के’ मा पोर्चुगल र डीआर कङ्गोले एक–एक अंक बाँडेका छन्। डीआर कङ्गोले सन् १९७४ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै महत्वपूर्ण अंक हात पारेको हो।

 
 
सम्बन्धित समाचार