काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार भइरहेका आधारहीन र भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ। यस्ता विज्ञापन प्रसारण गरेको पाइएमा कडा कानुनी कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले भ्रामक तथा झुट्टा विज्ञापनविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। त्यसपछि विज्ञापन बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कानुनले निषेध गरेका तथा आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्री का अनुसार विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, आर्थिक ठगी गर्ने र जनस्वास्थ्यसँग सम्बन्धित मापदण्ड उल्लङ्घन हुने विषयमा उजुरीहरू प्राप्त भएका छन्। यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पुर्याउनुका साथै आर्थिक क्षतिको जोखिमसमेत बढाएको बोर्डको निष्कर्ष छ।
विशेषगरी कपाल उमार्ने, कपाल बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी समस्या निको पार्ने, शरीरको बोसो घटाउने, मिर्गौला सफा गर्ने तथा शरीरका विषाक्त पदार्थ हटाउनेजस्ता दाबी गरिएका सामग्रीको प्रचार व्यापक रूपमा भइरहेको बोर्डले जनाएको छ। वैज्ञानिक आधार, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणबिना गरिने यस्ता प्रचारले सर्वसाधारणलाई भ्रमित बनाउने खतरा बढेको उल्लेख गरिएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न विज्ञापनदाता, एजेन्सी, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्तासहित सबै पक्षलाई बोर्डले सचेत गराएको छ।
त्यस्तै, चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गरिने औषधिको समेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो आएको भन्दै बोर्डले यस्ता गतिविधिले गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम बढाएको जनाएको छ।
भ्रामक विज्ञापन देखिएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न उपभोक्तालाई आग्रह गरिएको छ। प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने बोर्डले स्पष्ट पारेको छ।