काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेका बेला तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा उल्लेखनीय वर्षा भएको छ भने तराईका अधिकांश क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ।
विभागका अनुसार गोरखामा ७१.८ मिलिमिटर, मोरङमा ६१.८ मिलिमिटर, सुनसरीमा ५१.४ मिलिमिटर र झापामा ७१.२ मिलिमिटर वर्षा मापन गरिएको छ। यसअघि झापामा १०३ मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो।
यता, वर्षासँगै देशका अन्य क्षेत्रमा गर्मीको प्रभाव बढेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो। पछिल्लो अभिलेखअनुसार भैरहवामा सबैभन्दा बढी ४१.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। नेपालगन्जमा ४०.४ डिग्री, धनगढीमा ३८.८ डिग्री र काठमाडौँमा ३१.३ डिग्री तापक्रम पुगेको छ।
विभागले आज धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन रहने सम्भावना औँल्याएको छ। हाल देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाइएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा अत्यधिक गर्मी कायम रहने सम्भावना रहेको विभागले जनाएको छ। (रासस)