गोलकिपर एलोय रुमको ऐतिहासिक प्रदर्शन, कुरासाओले विश्वकपमा पहिलो अंक जोड्यो
1.6k
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा गोलकिपर एलोय रुमको उत्कृष्ट प्रदर्शनको मद्दतमा कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै विश्वकप इतिहासकै पहिलो अंक हासिल गरेको छ।
कान्सास सिटीमा भएको खेलमा इक्वेडरले अधिकांश समय दबाब बनाएर लगातार आक्रमण गरे पनि ३७ वर्षीय रुम बाधक बने। उनले ९० मिनेटमा १५ उत्कृष्ट बचाउ गर्दै विपक्षीलाई गोल गर्नबाट रोकेका हुन्। यो प्रदर्शन विश्वकपको नियमित समयमा कुनै गोलकिपरले गरेको सर्वाधिक बचाउमध्ये एक मानिएको छ।
जर्मनीसँग पहिलो खेलमा ७–१ को भारी हार बेहोरेको कुरासाओले दोस्रो खेलमा सशक्त पुनरागमन गर्दै ऐतिहासिक नतिजा निकाल्यो। सानो क्यारिबियन राष्ट्रका लागि यो विश्वकपमा प्राप्त पहिलो अंक हो।
खेलभर इक्वेडरले दर्जनौँ अवसर सिर्जना गरे पनि कप्तान एनर भ्यालेन्सिया लगायतका खेलाडीहरू गोल गर्न असफल रहे। अन्तिम समयमा प्रिसियाडोको प्रहार क्रसबारमा लाग्दा इक्वेडर अग्रता लिनबाट वञ्चित भयो।
बराबरीसँगै समूह ‘ई’ मा जर्मनीले लगातार दोस्रो जितसहित अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ भने इक्वेडर र कुरासाओको नकआउट चरण पुग्ने सम्भावना अन्तिम खेलमा निर्भर रहने भएको छ।