लुम्बिनी प्रदेशमा तेक्वान्दो प्रतियोगिता, खेलाडीको उत्साह
1.7k
Shares
लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ दाङको घोराहीमा सोमबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केट पार्कमा सञ्चालन भइरहेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले आइटीएफ तेक्वान्दो शारीरिक तथा मानसिक स्वास्थ्य, आत्मरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा जोडिएको खेल भएको बताउनुभयो ।
उहाँले खेलाडीहरूले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गर्ने लक्ष्य लिए पनि पर्याप्त बजेट अभाव रहेको उल्लेख गर्नुभयो । खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले सीमित भए पनि बजेट विनियोजन गर्दै आएको र त्यसकै आधारमा विभिन्न जिल्लामा खेलकुद गतिविधि सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।
मन्त्री न्यौपानेले फुटबल, क्रिकेट, भलिबललगायत सबै खेलको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिँदै भन्नुभयो, “खेलकुद गतिविधिसँगै पूर्वाधार विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर लगानी बढाउनुपर्छ ।”
कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले आइटीएफ तेक्वान्दो मार्सल आर्टको लोकप्रिय विधाका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि, खेल विकास तथा राष्ट्रिय स्तरका दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
त्यसैगरी लुम्बिनी प्रदेश आइटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामुमगरले प्रतियोगिताले प्रदेशमा आइटीएफ तेक्वान्दोको विकास, खेलाडी प्रतिभा पहिचान तथा खेल गतिविधिलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धा हुनेछन् । महिलातर्फ ४०–४५, ४५–५०, ५०–५५, ५५–६० तथा ६० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ तथा ६५ केजीमाथि तौल समूह निर्धारण गरिएको छ ।
साथै रेड बेल्ट, ब्लु बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाडीहरूबीच पनि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।